सुनेउ भाइ संसारमा शरीर अति कच्चा छ जन को
शरीर कच्चा जानी नगर तिमि रिस कत्ति मन को
सबै भोग्छन छल्छन बिजुली सरि एक छिन रहन्या
बिचार येस्तो राखी सहु तिमि बडो हुन्छ सहन्या
भ्याग्तो खाँ भनि खोज्छ डाक्स मुख बिसे साँपले धर्याको पनि
तस्तै भोग गरुला भनेर मनले भन्छन दुनियाँ पनि
क्या कु रस छ याँहा विचार मनले काल सर्प को मुख परि
क्या होला बन जाँउला ई सबलाई आनन्द राखुन हरि
देश देश का बाटुलीन्छन बुझ तिमि मनले बाट काल पाटि माँहा
बातचित गर्दै रहन्छन खुसि सित मनले बन्धु झैँ राति तँहा
प्रात काल भो जसै ता उठी कन ती सबै दस दिशा लागि जान्छन
बन्धु कु संग येस्तै बुझी कन गुणीले दुख सुखेक मान्छन
छाँया तुल्य छ लक्ष्मी योबन भन्या भेलेई सरीको भनि
भन्छन स्त्री सुखलाई सोक न सरि को साँचो कुरा हो भनि
येस्तै जानी पनि मनुष्य हरु सब संसारमा भुल्दछन
भुल्नैका बसले अनेक फजितिले संसारी भै डुल्दछन
जुन एस देह निमित्त यो रिस गर्यो चिन्छौ कि कस्तो छ यो
हाड मासु र रगत नसा एती कुरा जम्मा भै बन्छ यो
बिस्टा हुन्छ कि भस्म हुन्छ पछी त बाँच्दैन यो ता कसै
एसका खातिर घात गरेउ पनि भन्या पाप मात्र लाग्ला उसै
क्रोधई हो यमराज सर्ब जनको बैतरणी भन्नु पनि
त्रिस्णा हो भनी यो बुझेर तिमीले कैले नबिर्स्या पनि
सन्तोष लाइ बुझी कामधेनु सरीको सन्तोष मनले रहु
रिस गर्नु बढिया त छैन बनमा जानु असल हो सहु
येस्तै हो सुन कर्म का बस हुँदा बस्दैन एक ठाम रही
कस्तै कोइ हवस् अबस्य करले जानु छ जाँहा गइ
कर्मै को फल भोग गर्छ दुनियाँ एई चित्त मा लेउ भाइ
आमैले येही बात बुझी कन बिदा दिनु हवस् हामि लाइ
**रामायण **
0 comments:
Post a Comment